मदन भण्डारीबारे टुहुरा मान्यताहरू
–महेश भण्डारी
मदन भण्डारीको १७ औं वार्षिकी कर्मकाण्डी कार्यक्रम गरेर मुलुकभर मनाइयो । यो पटक मुलुकका छापाले उनको सोचेभन्दा ज्यादा विवेचना, विश्लेषण र सम्झना छापे । यो सब रीत रहेछ । मान्छे उही, घटना उही र विचार उही । ऊ कहिले प्रकाशमा पारिन्छ, कहिले छायाँमा । हामीसँग पूर्ण सत्य छैन यो जगत्मा । सत्यका खण्ड–खण्ड हाँगाहरू छन् । तिनका काँपमा हाम्रा टुहुरा मान्यताहरू झोल्लिएका छन्, हल्लिएका छन् । पश्चिमाहरू ‘पेण्डुलम’ भन्छन् यो. मनोदशालाई । हामी पूर्वीयाहरू भर्याङ भन्छौं । अरुलाई भ¥याङ बनाउने खेल रहेछ राजनीति । अंगुर अग्लै ठाउँमा फल्छ । त्यसलाई टिप्न र खान भर्याङ चाहिन्छ । केही मान्यताहरु यस्ता पनि आए र तिनले गधा बनेर ‘अंगुर अमिलो भएको’ पुष्टि समेत गरे । माओवादी आखिरमा मदन भण्डारीकै जनताको बहुदलीय जनवादकै बाटो समातेर नागरिक
पार्टी भएको छ भन्ने मान्यता राख्नेहरू त्यही ड्याङमा पर्छन् । जनतालाई मूलासँग सरोकार छ, ड्याङको भूगोल र माटो विज्ञहरू नै जानुन् ।
यो हप्ता केही घतलाग्दा कुराहरूको संग्रह बनाएर केही आलेखहरू छापिए । पहिलेका शुभचिन्तक र कार्यकर्ताहरू अहिले एमालेबाट टाढिनुका कारणहरू र आस्था भत्केपछि त्यसले लिने बेरूप व्यवहार र विचारको बयान बर्णित छन् धेरै आलेखहरूमा । पढेपछि लाग्यो, हामीबीच मदन भण्डारीबारे गर्नुपर्ने कुरा कैयन् रहेछन् । एमालेभित्र नै दुई धारले आ–आफ्नै अर्थ लगाएर जबजको व्याख्या गर्छन् । कमरेडका अर्थ अनेक छन्, अन्तिम अर्थ छैन । जनताको बहुदलीय जनवादका एक व्याख्याता वामदेव गौतम कारवाही भोग्न ‘अन योर मार्क’ को पोजिसनमा छन् । उता काँग्रेससँग जोडिएको घाँटी बोकेर कमरेड ओलीले समय र सन्दर्भ अनुसार आप्mनै विश्लेषण गरेका छन् जबजको । ‘एनिहाउ माओवादीको कद घटाऊ’, कमरेड ओलीले बुझेको जबजको सुत्र बस् यही हो । तरकारी पसलेलाई कसैले छोरो कस्तो छ भनेर सोध्यो भने ‘हरियो, हरियो ताजा ताजा छ हजुर’ भन्ने जवाफ दिएझैं कमरेड ओली बहुलठ्ठी कुरा गर्छन् ।
यसबीच ठमेलस्थित जाभामा बसेर कफी पिउँदै मित्र नवीनसँग ‘जनताको बहुदलीय जनवाद’ बारे गफिन मन लागेको छ । पन्थी डेरीमा बिताएका थुप्रै बसाईंमा हामीले मदन भण्डारीलाई धुँवा धँुवामा उडाएका छौं । प्रेम उडान हो । उडाउनुपर्छ । हामी सायद यही सोच्थ्यौं । प्रेममा जडता हुनु हुँदैन । आस्थालाई स्थिरता रुच्दैन । फुत्त उड्न दिनुपर्छ । र, हेर्नुपर्छ उडेको टाढा–टाढासम्म ।
हो, मुलुकबासीले नेकपा एमालेलाई चौपट उडाए । एमाले धागो चुडिँएको चंगाझैं हिमाली आकाशमा उडिरहेछ । बेताल उचाई र बेलगाम बेगलाई जनताको बहुदलीय जनवादको सफलता मान्नेलाई कुन शब्दले दया गरुँ ! मलाई थाहा छ, कम्युनिज्म भ्रम होइन, अफिम होइन र न हो धर्मशाष्त्र नै । कम्युनिज्म विज्ञान हो । एकमा एक जोडेर कवितामा तीन हुन्छ । हाम्रा विश्लेषण यस्तै मनोगत छन् । भावुक छन् । वस्तुपरक छैनन् । पूर्वाग्रही छन् ।
कुनै पनि मूल्यांकन गर्दा मूल्यांकनकर्ताले भोगेको विगत र उसले वर्षांै जिएको संस्कार हावी हुँदो रहेछ । कम्युनिष्टबारे हाम्रा आप्mनै मनोगत धारणा छन् । ०४६ सालको आन्दोलनताका थुप्रै मान्छे ‘महेन्द्रपुलका सटर अब हाम्रो नाउँमा हुनेछ’ भनेर आन्दोलनमा सरिक भएको हल्ला पोखरामा बेस्सरी चलेको थियो । त्यो बेला म सानै थिएँ । सारा सुकुम्बासी सडकमा उत्रेका थिए । भ्रम हो या सत्य, तिनै सटरले हजारौं हजार सुकुम्बासीका चेतन, अर्धचेतन या अबचेतन मनलाई कहिँकतै ‘ड्राइभ’ गरेको हुनुपर्छ । त्यो भेल रोक्न कम्युनिष्टहरू धर्म मान्दैनन्, गाई काटेर खान्छन् र साठी वर्ष कटेपछि बुढाबुढी मार्छन् भन्ने बहुलठ्ठी विवेचनासमेत बजारमा नआएको होइन । यी अनेकौं विरोधाभाषमाझ मदन भण्डारीले कम्युनिष्ट इतिहासको कडा परीक्षा दिए । सारा विश्व ‘एन्टी कम्युनिष्ट’ वेभमा बगेको बेला यिनी नेपालका आशालाग्दा नेता साबित भए । प्रष्ट, कडा तर शालीन भाषण गर्थे यिनी । यिनका कुरामा गालीभन्दा ज्यादा भिजन हुन्थ्यो, आक्रोशभन्दा ज्यादा जनताले भोगेका समस्याको सम्बोधन हुन्थ्यो । राजालाई श्रीपेच खोलेर चुनावी मैदानमा उत्रन हाँक दिने यी सबैभन्दा साहसी नेता थिए । ठूल्ठूलो फ्रेम भएको चश्मा, खैरो कोट, पसिनाले भिजेर कलर कालो भएको सेतो सर्ट, जोड दिएर बोल्दा चुनौतीस्वरुप माथि उठेको हात र औँलाको काँपमा कालो कलम ः मैले तस्वीरमा पढेको मदन भण्डारीको व्यक्तित्व बस् यस्तै यस्तै सामान्य थियो । यिनले सार्वजनिक सभामा पहिलो पटक अंग्रेजी शब्द ‘भिजिलान्ते’ प्रयोग गरेर मण्डलेको उछिटो काढ्दा साँच्चिकै भिजिलान्तेहरू चुप लागे र अरुहरू खुट्टा तानेर चोर बन्न चाहेनन् । त्यो मौनता सलाम थियो तिनको गालीलाई । नमन थियो तिनको हाँकलाई । यिनले धूलोमा बसेका जनतालाई ‘संग्रामीय अभिवादन’ चढाउँदा उपत्यकामा कुनै संघर्ष र लडाईं चर्केन । बरु आँधीअघिको सन्नाटा मुलुकबासीले महशुस गरेकै हुन् । उनको मरणपछि त्यो सन्नाटा शोकमा विलय भयो । आँधीजस्तो शक्ति भएन । यिनले काँग्रेसका शीखर पुरुष कृष्णप्रसादलाई हराए । दुनियाँ दङ्ग खायो । ‘न्युजवीक’ ले अन्तरवार्ता छाप्यो र शीर्षक दियो, ‘नेपालमा कार्लमाक्र्स जीवित छन् !’ यो एउटा ‘ब्रेकथु्र’ थियो । चुनौती थियो सारा विश्वलाई । त्यसपछि धेरै जनता यिनका प्रशंसक बने । एमालेले जति पनि आप्mनो मत बढायो, ती सब यिनका थप प्रशंसक हुन् । प्रशंसक यति धेरै बढेछन् कि सर्वमान्य नेता गणेशमानले यस्तो सर्वघृणित अभिव्यक्ति दिन बाध्य भए, ‘नेपाली जनता भेडा हुन् !’ मान्छेका आ–आप्mना दिमाग हुन्छन् । तिनको आप्mनो ‘वेभ–लेन्थ’ हुन्छ । यो किस्सालाई जनताले यसरी नै बुझे ।
मदन भण्डारीको १७ वार्षिकीको दिन छापामा प्रकाशित छोरी उषाकिरण भण्डारीको मनोभाव पढें । उनले केही सत्य ओकलेकी छन् । मदन भण्डारीको मरण हत्या हो या दुर्घटना ? यो ठम्याउन नसकिने किस्सा बनेर छापामा छाएको सत्र वर्ष भइसकेछ । यो बीच मस्र्याङ्दीमा धेरै पानी बग्यो । उनले प्रष्ट भनेकी छन्, ‘त्यो घटना षडयन्त्र नै हो ।’ एमाले अझै पनि सत्तामा छ । त्यो बेला नेता भण्डारीका दाइने हात मानिने माधवजी मुलुकका प्रधानमन्त्री हुनुहुन्छ । जननेता भण्डारीकी पत्नी विद्या रक्षा मन्त्री हुनुहुन्छ । उनको मरणको लगत्तै पार्टीले नौ महिना एक्लै शासन गर्ने अवसर पाएकै हो । आप्mनो जननेताको हत्यारा पत्ता लगाउन यो लामो समय हो । नामले कम्युनिष्ट पार्टी भनेर चिनिएको एमालेले हेर्दाहेर्दा थुप्रै मतदाता र प्रशंसक गुमाएको छ । गुमाइएका भण्डारीजस्तै टाढा भएका ती समर्थक र मतदाता फर्केर अब ‘सूर्य’ को घाम ताप्न नफर्कलान् । योबीच चालक अमर लामाको दिनदाहाडै हत्या समेत भयो । हिजोको वार्षिकीमा धेरै थान नेताले हत्यारा पत्ता लगाएरै छाड्ने आफ्नो पुरानो बचनाबद्धता दोहो¥याए या दोहोर्याएनन् ? छोरी उषाकिरणले सायद कान ठाडो पारेर सुन्न खाजिन् होला ।
बिपीका पुत्र प्रकाश कोइराला पूर्व राजा ज्ञानेन्द्रको टिके अनुयायी बनेको यो देशमा उषाकिरण भण्डारीले मानुषी यमी भट्टराईलाई भोट दिइन् भने पनि खड्ग ओलीहरू अचम्म नमाने हुन्छ । किताबको जबजले जनताको मन जितिँदैन । चरित्र, संस्कार र कार्यशैली महत्वपूर्ण हुन्छ जनलहर र जनविश्वास आर्जन गर्न । ज्ञानेन्द्रका चाकडीबाजको खोपीमा मदन भण्डारीको मूर्ति सुहाएको छैन । सायद छोरी उषाकिरण अतालिएको हुनुपर्छ ।
0 comments:
Post a Comment