Sunday, June 20, 2010

हिक्कोकोमोरी द्रोह

राजा पुनियानी


धेरै भयो – उ निस्केको छैन उसको बन्द कोठाबाट।


सुतेको-सुतेकै भएको छ उ।


कि आत्महत्या?


होइन-होइन, कहिलेकाहीँ कोठाभित्रबाट खोकेको आवाज आउँछ।


बिरामी छ कि?


कहिले हल्का सङ्गीत बज्छ।


कहिले खिड्कीमा चल्दो छायाँ पर्छ।


संवेदनको भग्न खण्डहरमा धुमधाम छ मानव अधिकार सम्मेलन।
बोधनको सुक्खा कूवाको फेदमा टर्टऱ्याउँछ हरियो भ्यागुता।


भोकले।
र जानिपठाउनुको शोकले।


चित्रकारको क्यान्भसमा विशाल नीलो आकाश चर्किएर पटपटी फुट्छ र त्यसका चिराहरूबाट चुहिन्छ समयको रक्तमिश्रित पहेंलो पीप।
चुहिरहन्छ त्यो।


कविको कविताभरि सुकेको छ सागर र फेरिएका छन् सागरहरू बाँझो भूमिमा।


अनास्थाको हरियो चउरमा भर्खरै एक हुल युवक-युवती निकै बेर बसेर गए।


बन्द छ सब।


बाटो र बोली।


आँखा र मन।


खिड्की र दैलो।


खुल्लाको उत्सवै छ बन्दको नाममा।


दिनभरि आकाश थर्काएका नाराहरू थाकेर चुपचाप विश्रामरत कुनामा विश्लेषण गरिरहेका छन् अटिट्युडहरूको।


टेबलमाथि पोस्ट-मोर्टम गर्दैछ पोस्ट-मोर्डनिजमले आफै आफ्नै शरीरको।


कोठाका भित्ताहरूमा पोस्टरहरू हिप-हप।


कोठाभरि गन्हाउँछन् विचलित भनाइहरू।


मन छैन रूढि मानिलिने। मन छ तोडिदिने नियमहरू।


साँधहरू।


सिमानाहरू।


बालुवा घडीको बालुवाजस्तै अलि-अलि गरेर भुसुसुसु झरिसक्यो सबै-सबै ढोङ।


प्राग्मानवको नङ्ग्रा, स्पार्टाकसको मुटु, ग्यालिलियोको जिब्रो, भ्यान गगको कान, लोर्काको कलेजोसँगै एक्काइसौं शताब्दीको आम मान्छेको सपना पनि क्युरियो पसलमा छ।


हिजडाहरू निउक्लियर बमको रिमोट बोकेर पैंचो माग्दैछन् अलेक्ज्याण्डरको मस्तिष्क।


सडक हिँड्ने मान्छेको लबज एक दिन फुटेको हुनेछ।


उ त्यो गाउँ जाँदैन जहाँका मानिसहरूमध्ये कोही उसको हत्यारा हुनेछ।


उ त्यही गाँउ जान चाहनेछ तर।


उसलाई डरको अनुहारमा टकटकी हेर्नुछ।


लाटाले जून हेरेझैं।


व्याकुल मृगतृष्णाहरू झुक्किन्छन् तिर्खाको पानी देखेर।


पानीको तिर्खाले तडपिएर चुस्छन् आफ्नै देहबाट नीलो रगत।


मनहरू बन्द छन्।


खुल्ला छन् शपिङ कम्प्लेक्सहरू।


देशहरू।


बन्द छ मात्र दैलो।


प्रकाशझैं देखिने भ्रमको पतित कुन्नि के-लाई यहाँ छिर्नेमौका दिएन दैलोले।


द्रोह पाक्दैछ भ्रूणझैं।


इ-मेल, वेब पेज, इ-स्टेशनहरूबाट द्रोहको ओहोरदोहोर छ लथालिङ्ग छरिएर वैद्युतिक ग्याजेटहरूमा तरङ्गहरू कुदेर द्रोह हिक्कोमोरी हुँदैछ। धेरै दिन भयो उ निस्केको छ।


कोठाबाट।


मनबाट।


र यतिखेर बाहिरबाट दैलो ढकढकाइरहेको आवाज आइरहेको छ।

0 comments:

Luv Nepal

सल्लाह सुझाब तथा सहयोगको लागि luvnepal977@gmail.com मा सम्पर्क गर्नुहोला ।