Tuesday, June 22, 2010

आमा र म

जीवन शर्मा पोखरेल


आमा,


दाजीहरूले अंश मागेको बेला


भाइहरूले घर फोर्न लागेको बेला

तिमी छुट्टिनु हुन्न भन्थ्यौ


म पनि त्यसै भन्थें ।


पल्ला रे काकाको घरमा


छुट्टिएर धेरै प्रगति भयो रे,


गरिब बाबुको थोरै सम्पति


एक एक गरेर बाडी छुट्टिए दाजुभाइहरू


तर तिमि र म सँगै बस्यौ ।






उनीहरूले तिमिलाई नराम्रो देख्छन्


तर म आफैलाई नराम्रो देख्छु


लाग्छ म राम्रो हुन सके भने


तिन करोड म राम्रो हुन सके भने


तिमि आफै राम्री हुनेछौ ।




उनीहरूले तिमीलाई बुझाउनु पर्छ भन्छन्


तर म आफैले बुझ्नु पर्छ भन्छु


लाग्छ म जस्ता तिन करोडले बुझे भने


तिमि आफै बुझ्ने हुनेछौ,


उनीहरूले तिमीलाई उठाउनु पर्छ भन्छन्


तर म आफै उठ्नु पर्छ भन्छु


तिन करोड म हरू उठे भने


तिमि आफै उठ्ने छौ ।




आफू धनी भएर होला


उनीहरू तिमीलाई गरिब देख्छन्


म त आफैलाई गरिब देख्छु


म जस्ता तिन करोड धनी भए भने


लाग्छ तिमि आफै धनी हुनेछौ ।




तिमीलाई सानो देख्नेहरू


आफू ठूलो भएको अनुमान गर्लान्


तिमीलाई डुबेको देख्नेहरू


आफूलाई तैरिरहेको महसुस गर्लान्


तर मलाइ मै डुबे झैँ लाग्छ


किनकी म जस्ता तिन करोड उत्रन सके भने


तिमि आफै उत्रने छौ ।




तिमिले पत्थर बन्न सिकायौ आमा


मैले कहिल्यै आदर्श छाँट्न जानिन


आफ्नै उत्पतिको इतिहास नियाल्दा


कहिल्यै झूटो बोल्न जानिन ।




तिमि र म सँगै रहदा


तिम्रै बहानामा


दाजीहरूले कुटे


भाइहरूले लुटे


लुट्नु र कुट्नु को के अर्थ


फगत फुटाले हाम्रो सगोलता,


आत्मीयता र एकता ।




म निस्के घरबाट


एक्लै निर्जर बस्तीतिर


तिमि के गर्दैछौ कुन्नि


म एक्लै रोइरहेछु


मेरो इतिहास पनि एक्लो बनिरहेछ ।।

0 comments:

Luv Nepal

सल्लाह सुझाब तथा सहयोगको लागि luvnepal977@gmail.com मा सम्पर्क गर्नुहोला ।