आमा र म
जीवन शर्मा पोखरेल
आमा,
दाजीहरूले अंश मागेको बेला
भाइहरूले घर फोर्न लागेको बेला

तिमी छुट्टिनु हुन्न भन्थ्यौ
म पनि त्यसै भन्थें ।
पल्ला रे काकाको घरमा
छुट्टिएर धेरै प्रगति भयो रे,
गरिब बाबुको थोरै सम्पति
एक एक गरेर बाडी छुट्टिए दाजुभाइहरू
तर तिमि र म सँगै बस्यौ ।
उनीहरूले तिमिलाई नराम्रो देख्छन्
तर म आफैलाई नराम्रो देख्छु
लाग्छ म राम्रो हुन सके भने
तिन करोड म राम्रो हुन सके भने
तिमि आफै राम्री हुनेछौ ।
उनीहरूले तिमीलाई बुझाउनु पर्छ भन्छन्
तर म आफैले बुझ्नु पर्छ भन्छु
लाग्छ म जस्ता तिन करोडले बुझे भने
तिमि आफै बुझ्ने हुनेछौ,
उनीहरूले तिमीलाई उठाउनु पर्छ भन्छन्
तर म आफै उठ्नु पर्छ भन्छु
तिन करोड म हरू उठे भने
तिमि आफै उठ्ने छौ ।
आफू धनी भएर होला
उनीहरू तिमीलाई गरिब देख्छन्
म त आफैलाई गरिब देख्छु
म जस्ता तिन करोड धनी भए भने
लाग्छ तिमि आफै धनी हुनेछौ ।
तिमीलाई सानो देख्नेहरू
आफू ठूलो भएको अनुमान गर्लान्
तिमीलाई डुबेको देख्नेहरू
आफूलाई तैरिरहेको महसुस गर्लान्
तर मलाइ मै डुबे झैँ लाग्छ
किनकी म जस्ता तिन करोड उत्रन सके भने
तिमि आफै उत्रने छौ ।
तिमिले पत्थर बन्न सिकायौ आमा
मैले कहिल्यै आदर्श छाँट्न जानिन
आफ्नै उत्पतिको इतिहास नियाल्दा
कहिल्यै झूटो बोल्न जानिन ।
तिमि र म सँगै रहदा
तिम्रै बहानामा
दाजीहरूले कुटे
भाइहरूले लुटे
लुट्नु र कुट्नु को के अर्थ
फगत फुटाले हाम्रो सगोलता,
आत्मीयता र एकता ।
म निस्के घरबाट
एक्लै निर्जर बस्तीतिर
तिमि के गर्दैछौ कुन्नि
म एक्लै रोइरहेछु
मेरो इतिहास पनि एक्लो बनिरहेछ ।।
0 comments:
Post a Comment